दफा २५
पद रिक्त हुने
(१) देहायको अवस्थामा अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकको पद रिक्त भएको मानिनेछ
(क) अध्यक्ष वा कार्यकारी निर्देशकले नेपाल सरकारमा तथा सदस्यले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
(ख) बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा,
(ग) दफा १८ को खण्ड (ग) मा उल्लिखित कसूरमा अदालतबाट दोषी ठहरिएमा,
(घ) निजको पदावधि समाप्त भएमा,
(ङ) निजलाई उपदफा (२) बमोजिम पदबाट हटाएमा,
(च) निजको मृत्यु भएमा ।
(२) दफा १३ को उपदफा (३) तथा दफा २० को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष, सदस्य वा कार्यकारी निर्देशकले बोर्डको हित विपरीत कुनै
कार्य गरेमा वा पदीय जिम्मेवारी पूरा नगरेमा अध्यक्ष तथा कार्यकारी निर्देशकको हकमा नेपाल सरकार र मनोनीत सदस्यको हकमा मन्त्रालयले निजको पदावधि सकिनु अगावै निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलाई निजको पदबाट हटाउनु अघि निज उपर लागेको आरोप उपर सफाइ पेश गर्न मनासिब मौका दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम आरोप लागेको अध्यक्ष, सदस्य वा कार्यकारी निर्देशकलाई पदमा राखी रहँदा निज उपर लगाइएको आरोप उपर प्रमाण निजले नष्ट गर्ने वा बोर्डलाई कुनै हानि नोक्सानी गर्न सक्ने मनासिब आधार देखिएमा नियुक्त वा मनोनयन गर्ने अधिकारीले निजलाई तत्काल पदबाट निलम्बन गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिमको निलम्बनको अवधि तीन महिनाभन्दा बढी हुने छैन ।
(६) कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२-को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि कार्यकारी निर्देशकको रुपमा: काम गर्न मन्त्रालयले मन्त्रालय वा अन्तर्गत बहाल रहेको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको कर्मचारीलाई खटाउन सक्नेछ।